राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा शुक्रबार सार्वजनिक गरेको छ। यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्।
जीपीएका आधारमा हेर्दा ३.६१ देखि ४.०० जीपीए ल्याउने १७ हजार ७८६ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २४९ जना विद्यार्थी रहेका छन्।
त्यसैगरी २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना तथा १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी ग्रेडेड भएका छन्।
आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। यसअनुसार आंशिकतर्फ ग्रेडेड प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ।
नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। दुवै समूह जोड्दा समग्र ग्रेडेड प्रतिशत ६४.१३ रहेको छ।
बोर्डका अनुसार नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी कुल ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ।

प्रतिक्रिया