श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै विरोध जनाएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि छलफल जारी रहेका बेला उक्त घटना भएको हो। छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए।
यसै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राई साम्पाङ ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए। तर सभामुख डोलप्रसाद अर्याल ले उनलाई बोल्न अनुमति नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोधस्वरूप संसद्को वेल घेराउ गरेका हुन्।
विरोध जारी रहेपछि सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र नियमको पालना गर्न सचेत गराएका थिए।
‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले बैठकमा भने।
वेल घेराउका बीच पनि प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल भने जारी रहेको थियो।

प्रतिक्रिया