नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, काठमाडौँकाे कार्यालय सञ्चालनमा


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, काठमाडौँ जिल्लाको औपचारिक कार्यालय सञ्चालनमा आएको छ। संघले काठमाडौँ महानगरपालिका वडा नं. २९, अनामनगरमा आफ्नो नयाँ कार्यालय स्थापना गरी सेवा सुरु गरेको हो।

एक विशेष कार्यक्रमका बीच संघका काठमाडौँ जिल्लाका संस्थापक अध्यक्ष आनन्द कृष्ण श्रेष्ठ र महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष शिव सागर शर्माले संयुक्त रूपमा उक्त कार्यालयको उद्घाटन गरेका थिए।

नियमित कार्य सम्पादनमा सहजता आउने विश्वास

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै संघका काठमाडौँ जिल्ला अध्यक्ष विष्णुलाल गिरीले यसअघि आफ्नै कार्यालय नहुँदा नियमित कार्य सञ्चालन, सङ्गठनात्मक सम्पर्क र अन्य प्रशासनिक कामहरूमा विभिन्न समस्या भोग्नुपरेको स्मरण गरे। अबका दिनमा भने आफ्नै कार्यालय भवन सञ्चालनमा आएसँगै ती सबै समस्याहरू समाधान हुने र कार्यसम्पादन थप व्यवस्थित हुने उनले जानकारी दिए।

व्यवसायलाई समयानुकुल बनाउने चुनौती र भावी योजना

उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै महासंघका केन्द्रीय सचिव रामचन्द्र अधिकारीले पुस्तक तथा स्टेशनरी व्यवसायलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै समयानुकुल ढङ्गले अगाडि बढाउनु अहिलेको मुख्य चुनौती रहेको औँल्याए।

यस्तै, अध्यक्ष गिरीले काठमाडौँ जिल्ला कार्य समितिले हाल पुस्तक तथा स्टेशनरी व्यवसायको प्रवर्द्धनका लागि चालेका कदमहरूबारे प्रष्ट पार्दै भने:

“हालको अवस्थामा पुस्तक तथा स्टेशनरी व्यवसायलाई उकास्न जिल्ला कार्य समितिले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसका साथै बजार अनुगमनलाई तीव्र बनाइएको छ र अनाधिकृत रूपमा पुस्तक तथा स्टेशनरी बिक्री-वितरण गर्ने विद्यालय एवं अन्य निकायहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यमा महासंघ सक्रियताका साथ लागेको छ।”

पूर्व अध्यक्ष महेश शर्माद्वारा खुसी व्यक्त, संघको प्रगतिमा सधैँ साथ रहने प्रतिबद्धता

नयाँ कार्यालय सञ्चालनमा आएको अवसरमा संघका पूर्व अध्यक्ष महेश शर्माले खुसी व्यक्त गरेका छन्। पूर्व अध्यक्ष शर्माले भने:

“कार्यालय नहुँदा पर्दै आएका नीतिगत र कार्यगत समस्याहरू अब हल भएका छन्। यसले संघमा आबद्ध सम्पूर्ण पुस्तक तथा स्टेशनरी व्यवसायीहरूका हकहित रक्षा गर्न र उनीहरूका समस्या समाधानका लागि ठोस मद्दत पुर्‍याउनेछ।”

उनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनहरूमा पनि संघको चौतर्फी विकास, विस्तार र प्रगतिमा आफू सधैँ साथ र सहयोगमा रहने प्रतिबद्धता समेत जनाए।

सरोकारवालाहरूको उल्लेख्य उपस्थिति

उक्त कार्यालय उद्घाटन समारोहमा संघ काठमाडौँका पूर्व अध्यक्षहरू महेश शर्मा, अजयकुमार शर्मा नेपाल र श्रीधर आचार्य लगायत विभिन्न पुस्तक तथा स्टेशनरी व्यवसायी एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आफ्नै कार्यालय स्थापना भएसँगै काठमाडौँ जिल्लाभरिका व्यवसायीहरूको हकहित र संरक्षणका लागि काम गर्न थप बल पुग्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।