आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुआत गरेको छ। लस एन्जल स्टेडियममा शनिबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारका रूपमा पनि पाएको थियो। पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल गरे।
खेलको सातौं मिनेटमै अमेरिकाले अग्रता बनाएको थियो। वेस्टन म्याकेनीको प्रहार रोक्ने क्रममा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले बल आफ्नै पोस्टमा छिराएपछि अमेरिका १–० ले अघि बढ्यो।
त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफमा पाराग्वेले खेलमा फर्किने प्रयास गर्यो। ७१औं मिनेटमा मौरिसियोले गोल गर्दै अन्तर घटाए पनि त्यसले नतिजा बदल्न सकेन।
बरु इन्जुरी समयको अन्तिम मिनेटमा जियोभानी रेयनाले गोल गर्दै अमेरिकाको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे।
यस जितसँगै अमेरिका समूह ‘डी’ मा तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। उक्त समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।
यसअघि सोही दिन भएको अर्को खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका थिए।

प्रतिक्रिया