चलचित्र विकास बोर्डको आयोजनामा फोटो पत्रकार तथा फोटोग्राफीमा रुचि राख्नेहरूका लागि एक महिने विशेष फोटोग्राफी तालिम सुरु भएको छ। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा बोर्डले यस तालिमको आयोजना गरेको हो।
बिहीबारदेखि सुरु भएको यस तालिममा देशभरिका ४० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। तालिमका लागि देशभरबाट ४ सय जनाभन्दा बढी इच्छुकहरूले आवेदन दिएका थिए। प्राप्त आवेदनहरूमध्येबाट आवश्यक मापदण्ड पूरा गरेका ४० जनालाई मात्र छनौट गरिएको चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता सन्तोष बाबु लोहनीले जानकारी दिए।
भिडियो पत्रकारिता पनि सिकाइने
एक महिनासम्म दैनिक रूपमा सञ्चालन हुने यस तालिमको मुख्य सहजीकरण नेपालका स्थापित तथा चर्चित फोटोग्राफर राजभाई सुवालले गर्नेछन्। तालिममा आधारभूत तथा आधुनिक फोटोग्राफीका प्राविधिक पक्षहरूका साथै परिमार्जित विधाका रूपमा भिडियो पत्रकारिता (Video Journalism) समेत सिकाइने बोर्डले जनाएको छ।
अहिलेको डिजिटल युगमा फोटो तथा भिडियो पत्रकारिताको महत्व र माग बढ्दै गएकाले सहभागीहरूका लागि यो तालिम व्यावसायिक क्षमता अभिवृद्धि गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। काठमाडौँ महानगरपालिका र बोर्डको यो संयुक्त प्रयासले नयाँ पुस्ताका फोटोग्राफरहरूलाई दक्ष र व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया