वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार दुवै मुद्दामा धरौटी बुझाएपछि मेयर सिंह रिहा हुनेछन्।
मेयर सिंहलाई मंगलबार बिहान ठोरीबाट प्रहरीले पक्राउ गरेको थियो। यसअघि पर्सा जिल्ला अदालतले जेठ १२ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। वीरगञ्ज–३ निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात तथा नागरिकता किर्तेसम्बन्धी उजुरी दर्ता गरेका थिए।

प्रतिक्रिया