सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा को कार्य योजना र उनीमाथि परेका उजुरीबारे अध्ययन गर्न विपक्षी दलहरूले समय माग गरेका छन्।
आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि बढ्नुपर्ने धारणा राख्दै थप समयको आवश्यकता औंल्याएका हुन्। पद्मा अर्याल ले सुनुवाइ प्रक्रियामा अत्यधिक हतार गरिएको भन्दै आपत्ति जनाउनुभयो।
त्यस्तै वर्षमान पुन ले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया परिपक्व, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो। नरबहादुर विष्ट ले पनि प्रक्रिया छिटो गरिनु उपयुक्त नभएको टिप्पणी गर्नुभयो।
यता सत्तारुढ दलका सांसदहरूले भने सुनुवाइ प्रक्रिया ढिलाइ नगरी वस्तुनिष्ठ र छिटो टुंग्याउनुपर्ने बताएका छन्। कवीन्द्र बुर्लाकोटी सहित डा. लेखजंग थापा र राजीव खत्री ले सुनुवाइलाई प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरेका छन्।
समितिका सभापति बोधनारायण श्रेष्ठ ले भने सुनुवाइ प्रक्रियालाई अनावश्यक रूपमा लम्ब्याउन नहुने स्पष्ट पार्नुभयो। न्यायालयमा देखिएको अन्योल अन्त्य गर्न समयमै निर्णय आवश्यक रहेको उहाँको भनाइ छ।
प्रधानन्यायाधीशमा सिफारिस शर्मा माथिको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु भएको हो। बैठकमा उनीमाथि परेका उजुरीको विवरण र कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। शर्मा विरुद्ध १६ वटा उजुरी परेको बताइएको छ।
सुनुवाइ प्रक्रिया कसरी अघि बढ्ने भन्ने विषयमा सत्तापक्ष र विपक्षबीच मतभेद देखिए पनि अन्ततः सहमतिको प्रयास जारी रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया