‘संसद् अपमान गर्ने प्रधानमन्त्री रहन मिल्दैन’ — हर्क साम्पाङ


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्री वालेन्द्र शाह लाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

साम्पाङले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। उनले संसद् र जनताको अपमान भएको भन्दै चार मुख्य कारण प्रस्तुत गरेका छन्।

उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल ले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री सभाबाट बाहिरिनु, प्रतिपक्षीको माग हुँदाहुँदै संसद्मा उपस्थित नहुनु, नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित रहनु तथा हालसम्म संसद्मा सम्बोधन नगर्नु गम्भीर विषय हुन्।

यी गतिविधिले लोकतान्त्रिक प्रणाली कमजोर बनाएको भन्दै साम्पाङले प्रधानमन्त्रीलाई पदमा बसिरहन नैतिक आधार नरहेको टिप्पणी गरेका छन्।