जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव विरुद्ध विश्वासको मतमा अनिवार्य रूपमा विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
पार्टीले सबै सांसदहरूलाई सदनमा अनिवार्य उपस्थित भई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो। बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ।
जनमत संसदीय दलका नेता चन्दनकुमार सिंह द्वारा जारी निर्देशनमा ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ को दफा २८ अनुसार २०८३/०२/०१ गते हुने विश्वासको मतमा विपक्षमा मतदान गर्न अनिवार्य निर्देशन दिइएको उल्लेख गरिएको छ।
यसैबीच, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदैछन्। यसअघि वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको थियो। तर, पार्टीका तर्फबाट सरकारमा रहेका अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा भने अझै पदमै रहेका छन्।
नेपाली कांग्रेसका नेता यादवलाई जनता समाजवादी पार्टी-नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ। यद्यपि माओवादी केन्द्र र एकीकृत समाजवादी हालै एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी बनेका छन्, तर प्रदेश सभामा औपचारिक अद्यावधिक हुन बाँकी छ।
यादव मधेश प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्। यसअघि लालबाबु राउत, सरोजकुमार यादव, सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल र सरोजकुमार यादव मुख्यमन्त्री भइसकेका छन्।
पार्टीले समर्थन फिर्ता लिइसक्दा पनि मन्त्रीद्वयले राजीनामा नदिएको विषयलाई लिएर आन्तरिक विवाद बढेको छ। सोही विवादका कारण जनमतले संसदीय दलको नेताबाट महेश प्रसाद यादवलाई हटाएर चन्दनकुमार सिंहलाई नियुक्त गरिसकेको छ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा जनमत पार्टीका हाल १२ सांसद रहेका छन्।

प्रतिक्रिया