बेइजिङमा ट्रम्प, इरान युद्धदेखि व्यापारसम्मका मुद्दा एजेन्डामा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन्। एयर फोर्स वनबाट ओर्लिएपछि उनलाई चिनियाँ उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका थिए, जसलाई कूटनीतिक रूपमा विशेष सम्मानको संकेत मानिएको छ।

दुईदिने भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिन पिङ सँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। भेटमा व्यापार शुल्क, प्रविधि क्षेत्रमा प्रतिस्पर्धा, इरान युद्ध तथा ताइवानसँग सम्बन्धित विषयहरू मुख्य रूपमा उठ्ने अपेक्षा गरिएको छ।

ट्रम्प सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा पुगेका हुन्। यस अवधिमा चीन अझ प्रभावशाली र दृढ रूपमा उभिएको छ भने ट्रम्पले मध्यपूर्वमा जारी सैन्य गतिविधिका कारण अन्तर्राष्ट्रिय दबाब पनि सामना गरिरहेका छन्।

यसअघि मार्चमा तय गरिएको भ्रमण अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण स्थगित गरिएको थियो। सो युद्धले विश्व अर्थतन्त्रमा समेत असर पारिरहेको छ।

भ्रमणअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनलाई अझ खुला बनाउन आग्रह गर्ने बताएका छन्। उनले चिनियाँ बजार अमेरिकी प्रविधि र उद्योगका लागि खुला गराउन प्राथमिकता दिने उल्लेख गरेका छन्।

इरान युद्ध भेटवार्ताको मुख्य एजेन्डा बन्ने देखिएको छ। चीनले इरानबाट ठूलो मात्रामा तेल आयात गर्दै आएको भए पनि होर्मुज जलडमरूमध्यमा देखिएको अवरोधका कारण आपूर्ति प्रभावित भएको छ। अमेरिकाले इरानमाथि प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिँदै आएको छ।

त्यसैगरी ताइवानको विषय पनि संवेदनशील मुद्दाका रूपमा उठ्नेछ। अमेरिकाले ताइवानलाई हतियार बिक्री स्वीकृत गरे पनि प्रत्यक्ष रक्षा प्रतिबद्धतामा स्पष्ट नीति नदेखाएको बताइन्छ।

व्यापारतर्फ ट्रम्पले चीनलाई अमेरिकी कृषि उत्पादन खरिद बढाउन दबाब दिने अपेक्षा गरिएको छ भने चीनले अमेरिकी ट्यारिफ घटाउन आग्रह गर्ने तयारी गरेको छ।

यो भेटलाई विश्वका दुई शक्तिशाली राष्ट्रबीचको सम्बन्ध र आगामी रणनीतिक दिशालाई प्रभाव पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।