नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता तथा एसएसपी शिव कुमार श्रेष्ठका अनुसार पाण्डेलाई सिन्धुलीस्थित कमलामाई नगरपालिका–६ बसपार्कबाट वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भएको आरोप लागेको छ। उनीविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
काठमाडौंको रक्तकाली स्थायी ठेगाना भएका ६३ वर्षीय पाण्डे हाल ललितपुरको मानभवन क्षेत्रमा बसोबास गर्दै आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया