संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्ने भएको छ। आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची रहेको छ।
संघीय संसद सचिवालयका अनुसार छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेछन्। सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्षमाथि समर्थन तथा आलोचना दुवै पक्षबाट विचार व्यक्त हुने अपेक्षा गरिएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। उक्त कार्यक्रमले आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकता, योजना तथा कार्यक्रमहरू समेटेको छ।
चालु अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेट पनि प्रस्तुत गरिने तयारी गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफलपछि बजेट निर्माण प्रक्रियाले थप गति लिने विश्वास गरिएको छ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी वर्षको विकास योजना र आर्थिक प्राथमिकता निर्धारण गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

प्रतिक्रिया