अनेरास्ववियु को २६औँ सम्मेलन रत्नराज्य लक्ष्मी क्याम्पस मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली विद्यार्थी आन्दोलनको केन्द्रका रूपमा परिचित आर.आर. क्याम्पसमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै विद्यार्थी राजनीतिमा नयाँ सन्देश दिएको छ।
सम्मेलनबाट गोविन्द जङ्ग विष्टको अध्यक्षतामा ३१ सदस्यीय नयाँ क्याम्पस कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको हो। कमिटीको सचिव पदमा ओखलढुङ्गाका विद्यार्थी नेता खम्बध्वज बस्नेत (सुजन) निर्वाचित हुनुभएको छ।
विद्यार्थीमाझ लोकप्रिय तथा तार्किक क्षमताका धनी मानिने बस्नेत यसअघि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यका रूपमा समेत सक्रिय रहँदै आउनुभएको थियो। उहाँको सचिव पदमा चयनसँगै आर.आर. क्याम्पसको विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थपिएको विद्यार्थीहरूको भनाइ छ।
नवनिर्वाचित सचिव बस्नेतले विद्यार्थी आन्दोलनलाई समयअनुकूल ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “अहिलेको विद्यार्थी आन्दोलनलाई पुरानै ढर्राबाट मात्र अघि बढाउन सम्भव छैन। अबको आन्दोलन समयसापेक्ष हुनुपर्छ। आजका विद्यार्थीले के खोजिरहेका छन्, उनीहरूको प्राज्ञिक विकास र भविष्यका आवश्यकता के हुन्, ती विषयलाई ध्यानमा राखेर हामी रचनात्मक योजनासहित अघि बढ्नेछौँ।”
सम्मेलनबाट उपाध्यक्षमा दक्ष शाही, पासाङ स्याबो र सुस्मिता खड्का निर्वाचित हुनुभएको छ। यस्तै, सह–सचिवमा एकेन्द्र खत्री, सुरेश चन्द्र र जेमिना पुन मगर चयन हुँदा कोषाध्यक्षको जिम्मेवारी अर्पण धिमिरेले पाउनुभएको छ।
देशभर विद्यार्थी संगठनहरूको औचित्यमाथि बहस भइरहेका बेला आर.आर. क्याम्पसमा सम्पन्न सम्मेलनले विद्यार्थी आन्दोलन अझै सक्रिय र सशक्त रहेको सन्देश दिएको विश्लेषण गरिएको छ। नवनिर्वाचित नेतृत्वलाई विद्यार्थीहरूले सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रतिक्रिया