डोनाल्ड ट्रम्प ले युद्ध अन्त्यका लागि इरान ले पठाएको पछिल्लो प्रस्तावलाई “पूर्णतया अस्वीकार्य” भन्दै खारेज गरेका छन्। इरानले पाकिस्तान मार्फत पठाएको उक्त प्रस्तावमा तत्काल युद्धविराम, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा थप आक्रमण नगर्ने ग्यारेन्टीको माग गरिएको थियो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘Truth Social’ मार्फत इरानी प्रस्ताव आफूलाई स्वीकार्य नभएको जनाउँदै युद्ध “छिट्टै सकिने” दाबी दोहोर्याएका छन्।
यसैबीच, बेन्जामिन नेतान्याहु ले इरानको युरेनियम भण्डार पूर्ण रूपमा नष्ट नगरेसम्म युद्ध अन्त्य नहुने अडान राखेका छन्। उनले इरानका आणविक संरचना ध्वस्त पार्नुपर्नेमा जोड दिएका छन्।
इरानका राष्ट्रपति मसुद पेजेस्कियान ले भने वार्ता आत्मसमर्पण नभएको स्पष्ट पार्दै इरान कुनै पनि हालतमा नझुक्ने बताएका छन्।
यसबीच, स्ट्रेट अफ हर्मोज बन्द गरिएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। इरानले उक्त जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूलाई सहयोग नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
क्षेत्रीय तनाव झनै बढ्दै जाँदा इरानले कतार, कुवेत र संयुक्त अरब इमिरेट्स जस्ता अमेरिकी सहयोगी राष्ट्रहरूमा ड्रोन तथा मिसाइल प्रहार गरेको समाचार सार्वजनिक भएको छ। यूएईले भने इरानबाट आएका दुईवटा ड्रोन खसालेको दाबी गरेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठुलो हवाई आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्व अहिले पनि पूर्ण रूपमा शान्त हुन सकेको छैन। युद्धविराम लागू भए पनि दुवै पक्षबीच फाट्टफुट्ट आक्रमण जारी रहेको छ।
यता, बेलायतको नेतृत्वमा सोमबार ४० भन्दा बढी राष्ट्रका रक्षा मन्त्रीहरू जलमार्ग सुरक्षा विषयमा छलफल गर्न एकत्रित हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया