सङ्घीय संसद् को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद्का महासचिव पद्यप्रसाद पाण्डे का अनुसार आज अपराह्न ४ बजे संसद्को संयुक्त बैठक बस्नेछ।
आजको संयुक्त बैठकमा रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसका लागि सांसदहरुलाई अपराह्न ३:४५ बजेसम्म प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको छ।
यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदन, नियमावलीको मस्यौदा पेस गर्ने लगायतका कार्यसूची पनि समावेश छन्।
यस अधिवेशनमा सरकारले जारी गरेका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश पेस गरिने संसद् सचिवालयले जनाएको छ। ती अध्यादेशहरू राष्ट्रियसभामा पनि प्रस्तुत गरिनेछन्।

प्रतिक्रिया