पूर्वमन्त्री तथा पूर्वमाओवादी नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङ ले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन् ।
दुवै पक्षबीच भएको सहमतिअनुसार किराँती पार्टीको वरिष्ठ नेतासहित दोस्रो वरीयतामा उपाध्यक्षको जिम्मेवारीमा रहने जनाइएको छ। किराँती पक्षले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको बताइएको छ। उनीसँगै आउने अधिकांश नेता तथा कार्यकर्ता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट रहेका छन् ।

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाललगायत नेतासँग पार्टी एकताको प्रक्रिया अघि बढाएपछि असहमति जनाउँदै किराँती जनार्दन शर्मासहित प्रलोपातर्फ लागेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले देशभरका नागरिकलाई श्रम संस्कृति पार्टीमा सहभागी हुन आह्वान गरेका छन्। उनले पुराना राजनीतिक दलहरूले जटिल भाषाशैली र नारामार्फत जनतालाई भ्रमित बनाएको आरोप लगाए ।
उनले भने, “देशलाई माया गर्ने, जनताप्रति निस्वार्थ भएर लाग्ने सबै शक्ति, समूह र व्यक्तिहरूलाई श्रम संस्कृति पार्टीमा मूल ढोका खुला छ। अब ३ करोड नेपाली नै श्रम संस्कृति पार्टी, श्रम संस्कृति पार्टी नै ३ करोड नेपाली भन्ने नारासहित अघि बढ्नुपर्ने समय आएको छ।”
किराँतीले नयाँ शक्तिका नाममा पनि जनतामा निराशा फैलिएको टिप्पणी गर्दै अबको राजनीतिक अभियानको केन्द्र पूर्वी नेपाल बन्ने दाबी गरे।
उनले भने, “माओवादी जनयुद्धको इपिसेन्टर रोल्पा–रुकुम थियो, २०७२ सालको भूकम्पको इपिसेन्टर बारपाक थियो, अबको शक्ति र विचारको केन्द्र पूर्वबाट उदाउँछ। घाम पूर्वबाट उदाउँछ, तर पश्चिमलाई अन्याय गर्दैन।”


प्रतिक्रिया