प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ ।
डा. शर्मालाई बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो । परिषद्को निर्णयसँगै उनको नाम संसदीय सुनुवाइ समितिमा पठाइएको हो ।
यद्यपि, सिफारिस प्रक्रियालाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा विवाद समेत सुरु भएको छ । प्रधानन्यायाधीशका लागि सिफारिस भएका ६ जनामध्ये चौथो वरीयतामा रहेका शर्मालाई अघि सारिएको भन्दै आलोचना भइरहेको छ ।
सरकारले भने वरीयताको आधारभन्दा कार्यक्षमता र मुद्दा फर्छ्योट दरलाई प्राथमिकता दिइएको दाबी गरेको छ । विपक्षी दल तथा केही कानुन व्यवसायीहरूले भने संवैधानिक परम्परा र न्यायालयको वरिष्ठता प्रणाली कमजोर बनाइएको आरोप लगाएका छन् ।
अब संसदीय सुनुवाइ समितिले शर्मासँग योग्यता, अनुभव, न्यायिक दृष्टिकोण तथा विवादित विषयमा प्रश्नोत्तर गर्नेछ । समितिको अनुमोदनपछि मात्रै उनको नियुक्तिको संवैधानिक प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया