सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरपालिकाले सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीहरूले प्रदर्शन गरेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि त्यसको विरोधमा स्थानीय सुकुमवासीहरू आन्दोलनमा उत्रिएका हुन् ।
विरोधस्वरूप प्रदर्शनकारीहरूले शुक्रबार बिहान जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगरस्थित औरही पुल क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । सडकमा टायर बालेर तथा नाराबाजी गर्दै उनीहरूले नगरपालिकाको निर्णय फिर्ता लिन माग गरेका छन् ।
प्रदर्शनका कारण केहीबेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको थियो । सडक अवरोधका कारण यात्रुहरू समस्यामा परेका थिए भने लामो दूरीका सवारी साधन सडकमै रोकिएका थिए ।
प्रदर्शनकारीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी बस्ती हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले आफूहरू वर्षौंदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको र उचित व्यवस्थापनबिना हटाउन खोजिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
स्थिति नियन्त्रणमा लिनका लागि क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षणका लागि कानुनी प्रक्रियाअनुसार सूचना जारी गरिएको जनाएको छ।

प्रतिक्रिया