आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ


आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । बुधबार (वैशाख २) काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । 

नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवान्डासँग डबल राउन्ड रोबिन लिगमा प्रतिस्पधा गर्नेछ । नेपाली महिला टोली पहिलोपटक रुवान्डा गएर खेल्न लागेको हो । घाइते भएपछि मैदानबाहिर रहेकी कप्तान इन्दु यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा फर्किएकी छिन् ।

बिदाइ कार्यक्रममा कप्तान इन्दुले प्रतियोगिताका लागि आफू सम्पूर्ण रूपमा तयार रहेको बताइन् । विगतका खेलमा भएका कमीकमजोरी सुधार गर्दै जित हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने उनको भनाइ थियो ।

नेपाली टोलीको कप्तानमा इन्दु र उपकप्तानको जिम्मेवारीमा पूजा महतो रहेकी छन् । विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, रूविना क्षेत्री र रचना चौधरी टिममा समावेश छन् ।