अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग भएको लामो वार्तामा इरानले अमेरिकी सर्त स्वीकार नगरेको बताएका छन् । वार्तापछि इस्लामावादमा पत्रकार सम्मेलन गरेर उपराष्ट्रपति भान्सले छलफलको विवरणबारे जानकारी दिएका हुन् ।
करिब २१ घण्टा चलेको वार्तापछि पत्रकारहरूलाई जानकारी दिँदै उनले ‘दुःखको कुरा, सहमति हुन सकेन’ भनेका छन् । उनका अनुसार अमेरिका लचिलो र सद्भावपूर्ण रूपमा वार्तामा सहभागी भए पनि इरानलाई आफ्नो प्रस्तावमा सहमत गराउन सकिएन ।
उनले इरानको आणविक कार्यक्रमलाई लिएर स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताउँदै इरानले परमाणु हतियार नबनाउने र त्यसतर्फ जान सहयोग गर्ने कुनै पनि उपकरण प्रयोग नगर्ने ग्यारेन्टी चाहिएको उल्लेख गरे । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख लक्ष्य भएको उनले बताए ।
वार्तामा अमेरिकी प्रतिनिधिमण्डलमा जारेड कुशनर र स्टिभ विटकफ पनि सहभागी थिए । भान्सले वार्ताका क्रममा ट्रम्पसँग पटक–पटक सम्पर्क भएको र अमेरिका अब पाकिस्तानबाट फर्कने तयारीमा रहेको जानकारी दिए ।
उनले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्शल असीम मुनिरप्रति वार्तामा सहयोग गरेको भन्दै आभार पनि व्यक्त गरेका छन् । अमेरिकी पक्षले अन्तिम प्रस्ताव प्रस्तुत गरिएको र इरानले स्वीकार गर्छ कि गर्दैन भन्ने हेर्न बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया