महाकुलुङमा स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

झलक राई
950
Shares

सोलुखुम्बु, महाकुलुङ गाउँपालिकामा गाउँपालिका र इको हिमाल नेपालको सहकार्यमा ६ वटा स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण गरिएको छ।

इको हिमाल नेपालको ग्रामीण स्वास्थ्य सहयोग परियोजना अन्तर्गतको वार्षिक कार्ययोजना अनुसार यो सहयोग गरिएको हो।

महाकुलुङ आधारभूत अस्पताल बुङ, पेल्माङ आधारभूत सेवा केन्द्र र छेस्काम स्वास्थ्य चौकीलाई बिहीबार अत्यावश्यक औषधि र उपकरण हस्तान्तरण गरिएको छ। इको हिमाल नेपालका कार्यक्रम परियोजना अधिकृत गोमा शर्माका अनुसार, गुदेल स्वास्थ्य चौकी, तुमाउ आधारभूत सेवा केन्द्र र खिरौले सामुदायिक इकाई गरी बाँकी तीनवटा स्वास्थ्य संस्थालाई शुक्रबार हस्तान्तरण गरिनेछ।

हस्तान्तरण गरिएका औषधिहरूमा पेटापराजोल, एन्टासिड, ल्याक्टुलोज लगायतका रहेका छन्। यसैगरी, उपकरणहरूमा स्टेथेस्कोप, अटोक्लेभ, ह्वीलचियर, कलर कोडिङ डस्टबिन लगायतका मुख्य सामग्रीहरू समावेश छन्।

आजको हस्तान्तरण कार्यक्रममा महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङ, वडा अध्यक्षहरू पर्खिधन राई र दुर्गा बहादुर राई, नि. प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्य तथा इको हिमाल नेपालका खेमराज कार्की र गोमा शर्माको संयुक्त उपस्थिति रहेको थियो।

यस सहयोगले गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।