सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु, के होला निर्णय ?

विशेष महाधिवेशन पक्षले प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गर्नुपर्नेसहित ८ बुँदे प्रस्ताव पठायो


नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरू भएको छ । बिहान ८ बजे बोलाइएको बैठक केहीबेरअघि शुरू भएको हो । यसअघि हिजो दिउँसो १ बजेका लागि बोलाएको बैठक बेलुका स्थगित भएको थियो ।

कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच पटक पटक छलफल भए पनि सहमति जुट्न नसक्दा बैठक बस्न सकेको थिएन । अझै पनि दुई पक्षबीच सहमति भइसकेको छैन ।

यसैबीच विशेष महाधिवेशन पक्षधरहरूले ८ बुँदे प्रस्ताव पठाएका छन् । प्रस्तावमा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानुपर्ने, विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिनुपर्ने, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्नेदेखि टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्नेसम्मका विषय समेटिएका छन् ।

यस्तै चुनावमा केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने, विशेष महाधिवेशनमा पेश भएका प्रतिवेदनहरूलाई पार्टीको पूँजीका रूपमा ग्रहण गर्नुपर्ने कुरा पनि प्रस्तावमा उल्लेख छ ।

संस्थापन पक्षसँग वार्तासँगै विशेष महाधिवेशन स्थलमा नयाँ नेतृत्व चयनका प्रक्रिया पनि अघि बढिरहेका छन् ।