काठमाडौं उपत्यकाको तापक्रम आज (मंगलबार) यो वर्षको हालसम्मकै कम मापन गरिएको छ । काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबारभन्दा न्यूनतम तापक्रम आज थप घटेको हो ।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम आइतबार (पुस २०) ४, शनिबार (पुस १९) ४.५ डिग्री सेल्सियस थियो ।
यसैबीच, आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया