‘भयको तस्बिर’ कथा सङ्ग्रहः एक टिप्पणी

साझा प्रेस
1.9k
Shares

बालकथा सङ्ग्रह ‘भयको तस्बिर’ की सर्जक अपेक्षा बास्तोला हुन् । सर्जक बास्तोलाको यो कथासङ्ग्रह उनको पहिलो प्रकाशित कृति हो ।

कक्षा १० मा अध्ययनरत बास्तोला विद्यालयको अध्ययनसँगै साहित्य पढ्न तथा कथा, कविता लेख्न रुचाउँछिन् । उनको यस कृतिमा उनी कक्षा ८ र ९ मा अध्ययनरत रहँदा लेखिएका कथाहरूको समेटिएको उनको पिता एवं साहित्य सर्जक हेरम्बराज बास्तोलाले जानकारी दिए ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थाई ठेगाना भएकी बास्तोला हाल काठमाण्डौमा नै अध्ययनरत छिन् । सर्जक अपेक्षाको कथा सङ्ग्रहमा समेटिएका कथाहरू उपर अब्बल साहित्यकारहरुले टिप्पणी समेत गरेका छन् । यहाँ कथा सङ्ग्रह उपर गरिएका टिप्पणी मध्ये समीक्षक शक्ति नेपालले गर्नुभएको टिप्पणी उनकै शब्दमा प्रस्तुत गरिएको छ ।

शक्ति नेपाल

नाम नै अपेक्षा भएपछि उनीसँग अब नेपाली साहित्यले धेरै अपेक्षा गर्ने सङ्केत प्रस्ट देख्न सकिन्छ । यी नानीसँग मेरो प्रत्यक्ष भेटघाट भएको त छैन, तर उनका पिता हेरम्ब बास्तोला (जो एक साहित्यिक स्रष्टा नै हुन् ।) सँग उनको प्रतिभाबारे कम्तीमा दिनको एकपटक हामी गफिन्थ्यौँ । अनि एकदिन चियाको गफका क्रममा हेरम्ब सरले ,“मेरी नानीले कथा लेख्दैछिन्, उनलाई साह्रै रुचि छ, त्यो प्रकाशन गरिदिनुपर्ने छ ।” भन्नुभयो

सरको बोलीमा नै उत्साह थियो । एउटा अभिभावक भएका नाताले आफ्नो सन्तानको उत्प्रेरणाका लागि त्यति उत्साहित हुनु एकदमै उदाहरणीय अभिभावकको चिनारी दिनु हो । नानी अपेक्षा बास्तोलाको समाचार वाचन कला, वाककलाको त हामीले धेरैचोटी प्रशंसा गरिसकेका छौँ । अपेक्षा बास्तोला अब कक्षा १० कि विद्यार्थीमात्र होइनन्, कला र सिर्जना क्षेत्रकी सेलिब्रिटी हुन्, उनलाई सेलिब्रिटी बनाउने जिम्मा तपाई हामी सबै शुभेच्छुकहरूको हो । किनकि, कक्षा १० कि विद्यार्थीले विविध विषय, क्षेत्र र शैलीका कथा लेखी साहित्यिक योगदानमा पाइला बढाउनु चानचुने कुरा हुँदै होइन ।

अब कथा सङ्ग्रहका बारे कुरा गरौँ– कथा सङ्ग्रहको नाम ‘भयको तस्बिर’ हरियो गाताका बिचमा सजिएको छ । झट्ट कभर हेर्दा हरोर शैलीको कथा अति मानवीय शक्तिको प्रभाव भए जस्तो, डर, भय, शङ्का, हत्या, आतङ्क भए जस्तो सङ्केत भए जस्तो लागे पनि भित्र हेर्दा त एउटा कथाको शीर्षकबाट यसको नामकरण गरिएको रहेछ । भवानी पाठकद्वारा प्रकाशित उक्त सङ्ग्रहमा जम्मा ९ वटा कथा समोवश छन् । पहिलो इमानसिंह इमान नामक कथाले नै मन तानियो । एउटा विद्यार्थी कतिसम्म इमानदार बन्नुपर्छ, वा एउटा सन्तान कतिसम्म इमानदार बनेमा परिवारको तथा समाजका अन्य व्यक्तिको पनि माया पाइन्छ भन्ने आलोचनात्मक भाव उक्त कथाले दिइसकेपछि मेरा आँखा सबै कथामा गढिइरहे । दोस्रो कथा पुन्टेलाई अंश फुटेको थालले बडो गम्भिर भाव बोकेको पाएँ । मान्छे अनिश्चित भविष्यबाट डराउने होइन वर्तमानमा खुसी रहन प्रयास गर्नुपर्छ भन्ने भावको प्रस्तुति कलात्मक छ ।

तेस्रो कथा बुबाको डरमा केटाकेटीहरू आफ्ना अभिभावकसँग कसरी डराउँछन् र आफ्नो सहयोगमा अभिभावकको कस्तो भूमिका खोज्छन् भन्ने मनोविज्ञान व्यक्त गरिएको छ । चौथो कथा भयको तस्बिर यस कथा सङ्ग्रहको केन्द्रीय कथा हो । उक्त कथामा रमेश एक्लै जङ्गलमा हिँड्दा पानीघट्टको आवाजलाई अरु नै केही अदृश्य वस्तुको आवाज ठानी डराएको र भागिरहेको प्रसङ्गलाई प्रस्तुत गरिएको छ । उक्त भावले साना केटाकेटीमा के के कुराले भय सिर्जना गरि भ्रम सिर्जना गरेको हुन्छ भन्ने आलोचनात्मक सोचलाई अभिव्यक्त गरिएको देख्दा म पनि अचम्मित भएँ । त्यसैगरी भैरवको फिर्ती नामक पाँचौँ कथाले वैदेशिक रोजगारीमा गएका नेपालीको दुःख, संघर्षपश्चात् नेपाल फर्कँदा स्वरोजगारबाट सफल बनेको जीवन कथालाई प्रस्तुत गरेको छ । उक्त कथाले राज्यमा रोजगार नपाएर भौँतारि रहेका युवा जमातलाई स्वरोजगार बन्ने प्रेरणा दिएको छ ।

छैटौँ कथा मनको बाघ कथामा कोठामा भएको घडीको सूइका आवाजले तर्सेको रोचक प्रस्तुति गरिएको छ । अधिकांश अभिभावकलाई बाल मनोविज्ञानको पाठ सिकाएको महत्वपूर्ण कथा मेहिनती रमाले आफ्ना नानीबाबुलाई अभिभावकले बुझ्न नसक्दा प्रतिभामाथि कतिसम्म अन्याय हुने रहेछ र उत्प्रेरणा पाएमा बालबालिकाले आँटेको कुरोमा कतिसम्म सफल बन्न सक्छन् भन्ने कुरा निकाली इन्जाइटीमा फसेका अभिभावकलाई झापड पनि हानेको छ । साथै स्वर्ग जाने बाटो नामक आठौँ कथाले रमा लगायत विद्यार्थीले द्वन्द्वकालमा भोग्नुपरेका सङ्कटलाई व्यक्त गरेको छ । उक्त कथा सर्जक बास्तोलाका लागि श्रुति कथा जस्तो देखिएको भए तापनि यस सङ्ग्रहमा विविधता थप्न दरो प्रमाण पुगेको छ ।

अपेक्षा बास्तोला

अन्तिम कथा हर्कजितको संघर्षले केटाकेटी उमेरमा नै अभिभावक गुमाएका बालबालिकालाई संघर्ष गर्न सिकाउने हो भने उनीहरु एकदिन काली गण्डकीको शालिग्राम जस्तै बन्न सक्छन् भन्ने सन्देश दिएको छ ।

यसरी हरेक कथामा फरक फरक विषय प्रस्तुत गर्न सक्ने बाल सर्जक अपेक्षाको कथा संङ्ग्रह सरासर पढ्दा २०/२५ मिनेटमा सकिने सानो कथा सङ्ग्रह बनेको छ । विन्दुमा सिन्धु अटाउन सक्ने शब्द कला र चातुर्यले भरिएकी सर्जक अपेक्षा बास्तोलाका आगामी दिन कला, सिर्जना, चेतना र आलोचनात्मक सोच, पठन र लेखनतर्फ सफल बनुन् मेरो अनन्त बधाई अनि शुभकामना छ ।