नवरात्रको तेश्रो दिन, आज चन्द्रघण्टाको पुजा आरधना

साझा प्रेस
50
Shares

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको पुजा आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात छिन्। उहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो ।

देवीको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवीको चन्द्रघण्टाको वाहन बाघ हो । चन्द्रघण्टा नाना प्रकारको रत्न जडÞित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर रहनुहुन्छ ।

देवी चन्द्रघण्टाको घन्टको ध्वनिबाट भूत–प्रेत बाधा भागेर जाने र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । शत्रु तथा दुष्टको दमन गर्नको निमित्त देवी सदा सर्वदा तत्पर रहेपनि देवीको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ । चन्द्रघण्टाको प्रसिद्धि सौम्यता या सौम्य स्वभावको साथै वीरता निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ ।

देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य अलौकिक छठाको कारण त्यहाँ उपस्थित सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

बडादशैं एवं नवरात्रको तेस्रो दिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ ।

चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।