चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै धनगढीमा आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको छ।
केसीका सहयोगी डा. अमृत जैशीका अनुसार अनशनको तेस्रो दिनमै उनको रक्तचापमा निरन्तर उतारचढाव देखिनुका साथै ब्लड सुगर खतरनाक रूपमा घटेपछि चिकित्सकको सिफारिसमा आईसीयूमा सारिएको हो। उनका अनुसार शुक्रबार साँझ ५६ एमजीडिएल रहेको ब्लड सुगर शनिबार बिहान ५० एमजीडिएलमा झरेको थियो।
डा. जैशीले केसीलाई अनशनस्थलबाट अस्पताल सारिए पनि उनको सत्याग्रह भने निरन्तर जारी रहेको बताए।
स्वास्थ्यमा थप जटिलता देखिँदै गएको बताउँदै उनले केसीलाई मांसपेशी बाउँडिने, बोल्न असहज हुने, हिँडडुल गर्न कठिनाइ हुने तथा शौचालय जानसमेत समस्या भइरहेको जानकारी दिए। बुढ्यौली उमेर र करिब एक महिनाअघि खुट्टाको जटिल शल्यक्रिया गरेका कारण यसपटक स्वास्थ्य अवस्था छिट्टै गम्भीर बनेको चिकित्सकहरूको भनाइ छ।
हाल सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. गजेन्द्र दुवालको नेतृत्वमा चिकित्सक टोलीले उनको निरन्तर स्वास्थ्य निगरानी गरिरहेको छ।
यसैबीच शुक्रबार राति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग टेलिफोन संवाद गर्दै उनका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको डा. जैशीले जानकारी दिए।
संवादका क्रममा डा. केसीले शहीद दशरथचन्द मेडिकल विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्न, गेटामा ३०० शैयाको पूर्णकालीन अस्पताल सञ्चालन गर्न तथा चिकित्सा शिक्षा क्षेत्रमा भएका विवादास्पद निर्णय सच्याउनुपर्ने माग पुनः दोहोर्याएका थिए। मन्त्री पोखरेलले अनशन अन्त्य गरी वार्तामा आउन आग्रह गरेका थिए।
डा. केसी चिकित्सा शिक्षा सुधारका लागि २४औँ पटक आमरण अनशनमा बसेका हुन्। सरकारले साउन ५ गतेसम्म माग पूरा गर्ने अपेक्षा पूरा नगरेपछि पुनः सत्याग्रह सुरु गर्न बाध्य भएको उनको भनाइ छ।
उनले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने, मापदण्ड र पूर्वाधारबिनै निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्न तथा स्वार्थ बाझिने गरी गरिएका नियुक्ति रोक्न सरकारसँग माग गरेका छन्। साथै, गेटा मेडिकल परियोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया