प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् विस्तार

उद्योग र श्रममा नयाँ नियुक्ति


बालेन शाह नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री नियुक्त गरेको छ। प्रधानमन्त्री शाहले उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादव लाई नियुक्त गरेका हुन्।

नवनियुक्त उद्योगमन्त्री गौरी कुमारी यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन्। यस्तै, श्रममन्त्री बनेका रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका थिए, जहाँ उनले सीके राउत लाई पराजित गरेका थिए।

यसअघि प्रधानमन्त्री शाहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका थिए। त्यसको भोलिपल्टै नयाँ नियुक्ति गरिएको हो।

उद्योग मन्त्रालय भने सरकार गठनदेखि नै प्रधानमन्त्री शाह आफैले सम्हाल्दै आएका थिए। साथै, उनले रक्षा मन्त्रालयको जिम्मेवारी पनि अझै आफ्नै मातहतमा राखेका छन्।