‘द एभरेस्ट ड्रीम’ निफमा प्रिमियर: ब्रेन इन्जुरीबाट उठेका सपनाको सगरमाथासम्मको यात्रा


गम्भीर मस्तिष्क चोट (ट्रमाटिक ब्रेन इन्जुरी) भोगेका व्यक्तिहरूको असाधारण साहस र पुनर्जागरणको कथालाई पर्दामा उतारेको डकुमेन्ट्री The Everest Dream आज नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर गरिएको छ। प्रिमियरका क्रममा नेपालका लागि बेलायती राजदूत Rob Fenn भावुक बनेका थिए।

स्कटल्याण्डका ब्रेन इन्जुरीबाट बाँचेका व्यक्तिहरूले सगरमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्यसहित गरेको प्रेरणादायी यात्रालाई समेटिएको यस फिल्मको निर्देशन गणेश पाण्डे ले गरेका हुन्। करिब डेढ वर्षको मेहनतपछि तयार भएको फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका मानिसहरूले आशा र आत्मविश्वासका साथ नयाँ सपना पछ्याएको कथा प्रस्तुत गर्छ।

डाक्टरहरूले सामान्य जीवनमा फर्किन कठिन हुने बताए पनि उनीहरूले हार नमानी नेपाल आएर सगरमाथा बेस क्याम्पसम्मको चुनौतीपूर्ण यात्रा पूरा गरेका थिए। फिल्ममा स्कटल्याण्डबाट सुरु भएको यात्रा, काठमाडौं आगमन र खुम्बु क्षेत्र हुँदै बेस क्याम्पतर्फको भावनात्मक पदयात्रा देखाइएको छ।

उचाइ, थकान र स्वास्थ्य समस्याबीच पनि उनीहरू एकअर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढेको दृश्यले दर्शकलाई भावुक बनाउँछ। यात्राका क्रममा एक सदस्य केही समय हराउने र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको घटनाहरू पनि फिल्ममा समेटिएका छन्।

निर्देशक पाण्डेका अनुसार, “यो फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ।” The Little Sherpa Foundation का जेम्स ल्याम्बको नेतृत्वमा पाँच बिरामी र परिवारसहित सात जनाको टोलीले यो यात्रा सम्पन्न गरेको थियो।

प्रिमियरमा उपस्थित राजदूत फेनले फिल्मलाई “अत्यन्त प्रेरणादायी” बताएका छन् भने Jennifer Cool ले पनि डकुमेन्ट्रीले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको प्रतिक्रिया दिएकी छन्।

फिल्म निर्माणका क्रममा निर्देशक पाण्डे स्वयंले पनि चुनौती सामना गरेका थिए। बेस क्याम्प नजिकिँदै गर्दा अक्सिजनको कमी भएपछि उनलाई हेलिकप्टरमार्फत फर्किनुपरेको थियो।

यसअघि उनका डकुमेन्ट्री भाग्यले बाँचेकाहरू ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो भने को–हजबेण्ड ले पनि एक दर्जनभन्दा बढी अवार्ड जित्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेको छ।

फिल्ममा एशोसियट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ।

आजको प्रिमियरसँगै ‘द एभरेस्ट ड्रीम’ अब विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन गरिने निर्देशक पाण्डेले जानकारी दिएका छन्।