देशका केही स्थानमा आज (चैत २२) हावाहुरीको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ,” विभागले भनेको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर हाल साधारणतया बादल लागेको छ ।
विभागका अनुसार, आइतबार (चैत २२) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोसी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भाग, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस र कोसी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया