सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा यस वर्षदेखि ‘एभरेष्ट–दुधकोशी कल्चरल ट्रेल’ को औपचारिक सुरुवात भएपछि पर्यटकीय गतिविधिमा नयाँ उत्साह थपिएको छ ।
आज माप्यदुधकोशी गाउँपालिकाको वडा नम्बर ५ स्थित शिलगुडीमा जर्मनीबाट आएको पर्यटकीय टोलीलाई स्थानीयस्तरमा भव्य स्वागत गरिएको छ । स्वागतपछि टोली ‘पिके पिक ट्रेक २०२६’ को समापनका लागि पिके पिक तर्फ प्रस्थान गरेको छ ।

अल्पाइन एक्सकर्सन ट्रेक्स एण्ड एक्सपिडिसनको आयोजनामा सञ्चालित उक्त अभियानअन्तर्गत जर्मनीका नागरिक कारिना एडम र रोबर्ट न्युबरको नेतृत्वमा आएको टोलीलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको उपस्थितीमा स्थानीयले विशेष सत्कार गरेका हुन् ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले यो पदमार्ग विश्वको सर्वोच्च शिखर सगरमाथा तथा अन्य हिमशृङ्खलाको अवलोकनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । उनका अनुसार यस मार्गबाट पर्यटकले प्राकृतिक तथा सांस्कृतिक सम्पदा, हिमाली गाउँको जनजीवन र ढकमक्क फुलेका गुराँसको मनमोहक दृश्यको आनन्द लिन सक्छन् ।
राईले यस पालिकामा रक क्लाइम्बिङको प्रचुर सम्भावना रहेकोकाले रक क्लाईम्बिङ, म्याराथन, प्रवद्र्धनात्मक कार्यक्रम तथा सम्भाव्यता अध्ययनमार्फत क्षेत्रलाई चिनाउने प्रयास भइरहेको पनि जानकारी दिए ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्मित यो पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न र स्थानीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिने यस क्षेत्रको आतिथ्यता र प्राकृतिक सुन्दरताबाट प्रभावित भएका विदेशी पर्यटकले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले यो ट्रेललाई थप व्यवस्थित गरी अर्को वर्षदेखि नियमित ‘कल्चरल ट्रेल कार्यक्रम’ सञ्चालन गर्ने योजना बनाएको छ।



तस्विरः लक्ष्मी जोशी, सोलु एफएम

प्रतिक्रिया