ओली र लेखकलाई आज प्रहरी गणमा राखिने, आइतबार अदालतमा लैजाने


काठमाडौं । जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरी गणमा राखिने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई महाराजगञ्जस्थित २ नम्बर प्रहरी गणमा थुनामा राख्ने तयारी गरिएको छ।

पक्राउपछि दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उनीहरूलाई प्रहरी गणमा स्थानान्तरण गरिने तयारी गरिएको प्रहरीले जनाएको छ।

सरकारको निर्देशनअनुसार प्रहरीले शनिबार बिहान जरुरी पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई निवासबाटै पक्राउ गरेको हो। जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।

उक्त प्रावधानअनुसार लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान जानु नहुने कसूरमा अनुसन्धान गरिनेछ। जाँचबुझ आयोगले जेन–जी आन्दोलनका क्रममा भएको घटनामा लापरबाहीका कारण युवाहरूको ज्यान गएको निष्कर्ष निकालेको छ।

प्रहरीका अनुसार आइतबार अदालतमा उपस्थित गराइनेछ भने त्यसपछि बयान प्रक्रिया सुरु गरिनेछ।