यी स्थानमा हुनेछ आज चट्याङसहित वर्षा


नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार, बुधबार (चैत ११) दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा  मौसम मुख्यतया सफा रहने छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति, सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।