प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार (चैत १०) वाग्मती र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दै छन् । खेलमा वाग्मती पहिलो जितको खोजीमा छ भने गण्डकी विजयी सुरुआतको खोजीमा छ ।
खेल काठमाडौंको मूलपानीमा बिहान ९:३० बजे हुने तालिका छ । तालिकाको पुछारबाट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका यी दुवै टोली प्रतियोगितामा अंकविहीन छन् ।
वाग्मती यसअघि भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबसँग ७१ रनले पराजित भएको थियो । गण्डकीको भने यो पहिलो खेल हो ।
आजै प्रतियोगितअन्तर्गत हुने दोस्रो खेलमा विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दै छन् । खेलमा एपीएफ दोस्रो जितको खोजीमा हुनेछ । हालसम्म एक खेल खेलेको एपीएफले शतप्रतिशत जित निकाल्दै तालिकामा दुई अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एपीएफले यसअघि वाग्मतीलाई ७१ रनले हराएको थियो ।
पुलिस भने पहिलो जितको खोजीमा हुनेछ । हालसम्म एक खेल खेलेको पुलिसले अंक जोड्न सकेको छैन । तालिकाको पुछारबाट चौथो स्थानमा रहेको पुलिसले यसअघि विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध २२ रनको हार व्यहोरेको थियो । यी दुईबीचको खेल काठमाडौंको मूलपानी क्रिकेट रंगशालामा बिहान ९:३० बजे हुने तालिका छ ।

प्रतिक्रिया