गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज


पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला को १६औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

चार पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको वि.सं. २०६६ साल चैत ७ गते निधन भएको थियो। उनको जन्म वि.सं. १९८१ सालमा भारतको टेडीमा भएको थियो, जहाँ राणा शासनको विरोधका कारण उनका अभिभावक प्रवासमा रहेका थिए।

नेपाली राजनीतिक इतिहासमा कोइरालाको योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ। २०४७ सालको जनआन्दोलन, दोस्रो जनआन्दोलन २०६२–६३, माओवादी द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण तथा १२ बुँदे सम्झौतामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

विशेषगरी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र देशमा स्थायी शान्ति स्थापना गर्न उनले खेलेको भूमिका ऐतिहासिक रूपमा स्मरणीय छ। त्यस्तै, तत्कालीन राजा ज्ञानेन्द्र शाह ले २०६१ साल माघ १९ मा सत्ता हातमा लिएपछि कोइरालाले विभिन्न दललाई एकीकृत गर्दै लोकतन्त्र पुनःस्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।

उनकै नेतृत्वमा भएको आन्दोलनपछि २०६३ साल वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको थियो, जसलाई नेपाली राजनीतिमा ‘म्याग्नाकार्टा’ का रूपमा पनि चिनिन्छ।

आन्दोलन सफल भएसँगै कोइराला चौथोपटक प्रधानमन्त्री बनेका थिए। आफ्नो अन्तिम कार्यकालमा उनले कार्यवाहक राष्ट्राध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए।

उनको स्मृतिमा आज विभिन्न राजनीतिक दल, संघसंस्था र शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरिरहेका छन्।