भारतको बिहार क्षेत्रबाट विकसित भएको वर्षा प्रणाली नेपाल प्रवेश गरेसँगै बागमती प्रदेशका विभिन्न क्षेत्रमा अल्पसमयमै भीषण वर्षा हुने जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतका मौसमविद्हरूले आज विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसमविद् उज्जवल उपाध्याय का अनुसार गोरखपुर–बगाहा हुँदै आएको उक्त प्रणाली हाल उत्तर–पूर्वतर्फ सर्दै नेपालमा पहिलेदेखि सक्रिय मौसमी प्रणालीसँग जुध्ने क्रममा छ। यस टकरावले छोटो समयमै तीव्र वर्षा गराउने सम्भावना उच्च रहेको उनले बताए।
यो प्रणाली पश्चिम चितवनबाट प्रवेश गरी भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा केन्द्रित भई पूर्वतर्फ सर्ने अनुमान गरिएको छ। त्यसपछि धादिङ र उत्तरी मकवानपुर हुँदै बिहान १०–११ बजेतिर काठमाडौं उपत्यका आइपुग्ने प्रक्षेपण गरिएको छ।
यद्यपि, काठमाडौं आइपुग्दा प्रणाली केही कमजोर हुने भएकाले उपत्यकामा अत्यधिक वर्षाको सम्भावना कम रहेको जनाइएको छ। वर्षाको अवधि बढीमा ३ घण्टासम्म रहने अनुमान छ।
यसैबीच, हरिप्रसाद दाहाल ले आज रातिदेखि प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने बताएका छन्।
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा लेटाङ मा मापन गरिएको छ, जहाँ ६१.६ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ। वर्षासँगै आएको हावाहुरी र भलबाढीका कारण विभिन्न जिल्लामा सडक, विद्युत् र सञ्चार सेवा प्रभावित भएका छन्।
शुक्रबारदेखि सक्रिय रहेको प्रणालीकै निरन्तरता र थप विकसित वायूका कारण चितवन र आसपासका क्षेत्रमा पुनः वर्षाको सम्भावना बढेको मौसमविद्हरूले बताएका छन्। सम्भावित हुरीबतास, चट्याङ र आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया