सुनचाँदीको भाउमा गिरावट: तोलामा ७ हजार ८ सय रुपैयाँले सस्तो


नेपाली बजारमा सुनको भाउ शुक्रबार उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ७ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ थियो।

यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्यले ऐतिहासिक उच्च रेकर्ड कायम गरेको थियो। सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

हालसम्मको अवस्थालाई हेर्दा, उक्त रेकर्ड मूल्यबाट सुनको भाउ झण्डै ४५ हजार रुपैयाँले घटिसकेको देखिन्छ। बजारमा पछिल्लो समय आएको अन्तर्राष्ट्रिय प्रभाव र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको विश्लेषण गरिएको छ।