कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ माननीय चोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै कान्छी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चैत ३ गते मंगलबार राति करिब ८:४५ बजेको समयमा स्थानीय ५५ वर्षीय हरि प्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठमाथि धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट बिन्द्रा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा हरिले आफ्नै ५० वर्षीया बहिनी भगवती देवी माझीमाथि पनि आक्रमण गरेका थिए । विवाह भए पनि माइतीमै बस्दै आएकी भगवतीको टाउको र दाहिने हातमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको र हाल महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी जग्गा जमिनको विषयलाई लिएर उनीहरूबिच लामो समयदेखि विवाद चल्दै आएको बुझिएको छ । सोही पुरानो रिसिइबीका कारण हरिले मध्यरातमा परिवारका सदस्यमाथि आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटना लगत्तै आरोपी हरि प्रसाद श्रेष्ठ फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार श्रेष्ठको खोजीका लागि जिल्लाभर र सीमा क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया