स्थानीय तह निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि नेकपा एमाले तानसेन नगर कमिटीले संगठनलाई ‘रिसेट’ गर्ने निर्णय गरेको छ । नैतिक जिम्मेवारी स्वीकार गर्दै नगर कमिटीसहित १४ वटै वडा कमिटी एकैपटक विघटन गरिएको हो ।
निर्वाचन समीक्षा बैठकले संगठनको कमजोरी स्वीकार्दै पुरानो संरचनाबाट अघि बढ्न नसकिने निष्कर्ष निकालेको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए। उनका अनुसार कार्यकर्ताको भावना र बदलिँदो राजनीतिक परिवेशअनुसार नयाँ, चुस्त र प्रभावकारी कमिटी निर्माण गर्न यो कदम चालिएको हो ।
पार्टीभित्रै समीक्षा गर्दा मत परिणाममा उल्लेख्य गिरावट देखिएको छ। २०७९ सालको समानुपातिकतर्फ करिब ९ हजार मत ल्याएको एमाले यसपटक करिब ४ हजारमा सीमित भएको तथ्यले संगठनभित्र गम्भीर पुनरावलोकनको आवश्यकता देखाएको नेताहरूले बताएका छन् ।
अध्यक्ष आत्रेयले व्यक्तिगत रूपमा राजीनामा दिने तयारी गरे पनि बैठकले सामूहिक जिम्मेवारी तय गर्दै सम्पूर्ण संरचना नै विघटन गर्ने प्रस्ताव अघि सारेको बताए। “यो केवल नेतृत्वको होइन, समग्र संगठनको कमजोरी हो,” उनले भने, “अब नयाँ सोच र नयाँ शैलीमा अघि बढ्नुपर्छ ।”
बैठकले २०८३ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसर पारेर नगर अधिवेशन गर्ने निर्णय गरेको छ। साथै, तीन महिनाभित्र सबै वडा कमिटी पुनर्गठन गरिनेछ।
पराजित उम्मेदवार ठाकुर गैरेले जनताको मन जित्नेगरी काम गर्न नसकिएको स्वीकार गर्दै अब सेवा र विश्वास जित्ने राजनीतिमा फर्किनुपर्ने धारणा राखे। उनले कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढ्न आग्रह गरे ।
बैठकमा नगरदेखि केन्द्र र प्रदेश तहसम्मका नेताहरूको उपस्थिति रहेको थियो। सहभागी नेताहरूले संगठनलाई जनतासँग नजिक बनाउँदै विश्वास पुनःस्थापित गर्ने रणनीतिमा जोड दिएका छन् ।

प्रतिक्रिया