रास्वपाले टुंग्यायो समानुपातिक सूची: ५७ मध्ये ४८ महिला


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुषसहित कुल ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झाले उक्त नामावली निर्वाचन आयोगमा पठाइने भए पनि हाललाई सार्वजनिक नगरिने जानकारी दिए। उनका अनुसार आयोगबाट रुजु प्रक्रिया पूरा नभएसम्म सूचीलाई प्रस्तावित मात्र मानिने भएकाले पार्टीले सार्वजनिक नगर्ने नीति लिएको छ।

“निर्धारित समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ। आयोगले रुजु गरेपछि मात्र सूची सार्वजनिक हुनेछ,” झाले भने। रास्वपाले समानुपातिक सूचीमा विभिन्न सामाजिक समावेशी समूहलाई समेट्दै क्लस्टरअनुसार नाम पठाएको जनाएको छ। प्रवक्ता झाले दिएको जानकारीअनुसार खस आर्यतर्फ १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम समावेश गरिएको छ।

समानुपातिक सूचीमा महिलाको उच्च सहभागिताले रास्वपाले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको सन्देश दिएको विश्लेषण गरिएको छ। यद्यपि आयोगबाट अन्तिम रुजु भएपछि मात्रै वास्तविक नामावली सार्वजनिक हुने भएकाले सूचीमा को–को परे भन्ने चासो भने अझै बाँकी नै रहेको छ।