श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद


श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिक तर्फ पठाउने सांसदहरूको नाम टुंगो लगाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै पार्टीले ४ सिट पाएको थियो । सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो।पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राई का अनुसार समावेशी कोटाअनुसार निम्न व्यक्तिहरूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरिएको छ।

सिफारिस भएका सांसदहरू

मन्दिरा मोक्तान — आदिवासी जनजाति महिला (हेटौँडा)

अम्बिका सङ्ग्रौला — खस आर्य महिला

राधिका रम्तेल — दलित महिला (सुर्खेत)

पूर्ण लिम्बू — आदिवासी जनजाति पुरुष (पूर्व गोर्खा लाहुरे)

समानुपातिक सांसद चयनको विषयलाई लिएर पार्टीभित्र केही समय आन्तरिक विवाद देखिएको थियो। खस आर्य समूहअन्तर्गत पहिलो नम्बरमा रहेका जीवन विष्टले विवादका बीच आफ्नो नाम समानुपातिक बन्द सूचीबाट फिर्ता लिएको घोषणा गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत पदका लागि हुने विवादमा आफू नजाने भन्दै पार्टी र मतदाताको सम्मानका लागि त्याग गरेको बताएका थिए।

यसअघि समानुपातिक सांसद चयनमा विवाद चर्किएपछि पार्टी अध्यक्ष हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै “भात खाऊ, मेरो टाउको नखाऊ” भन्दै टिप्पणी गरेका थिए । उनले समानुपातिक विषयमा अनावश्यक विवाद गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी समेत दिएका थिए ।