वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्ट र अभियुक्तको बयानका आधारमा प्रहरीले यस्तो निष्कर्ष निकालेको हो।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।
मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फागुन २३ गते नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानमा जबरजस्ती करणीका क्रममा मृतकको संवेदनशील अंग च्यातिँदा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया