दोलखामा वरिष्ठ कम्युनिष्ट नेता भण्डारी पुनः एमाले फर्किए


दोलखाका वरिष्ठ कम्युनिष्ट नेता शिव प्रसाद भण्डारीको पुनः एमाले प्रवेशसँगै जिल्लाको राजनीतिक माहोल तातेको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले चरिकोटस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको पुनर्मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। पुर्व नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा दोलखाका कम्युनिष्ट आन्दोलनका संस्थापक नेतामध्ये एक मानिने भण्डारीको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा पुनरागमनलाई जिल्लाको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, केन्द्रीय सदस्य आनन्द पोखरेल, रचना खड्का र उर्मिला सुनुवार लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले भण्डारीको पुनः आगमनले दोलखामा पार्टी संगठन थप सुदृढ हुने बताएका थिए। उनीहरूले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित हुने दाबी गरे ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता विशाल काफ्ले खत्रीले शक्तिशाली नेतासहित सयौँको संख्यामा एमाले प्रवेशले दोलखामा पार्टीको पक्षमा स्पष्ट जनलहर देखिएको बताए ।

कार्यक्रमका अवसरमा एमाले दोलखाले आफ्नो चुनावी घोषणा पत्र समेत सार्वजनिक गरेको थियो । घोषणा पत्रमा जिल्लाको पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखिएको जनाइएको छ।