ओखलढुंगामा नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले नेता कार्यकर्ताको समर्थन जुटाउँदै मतदाताका बीचमा माहोल बढाउन थालेका छन् । नेकपामा प्रवेश गर्न इच्छुक भएकालाई पार्टीमा भित्राउने र अन्य दलमा रहेका स्थानीय अगुवाहरुको पनि साथ लिने रणनीतिमा रहेका गुरुङलाई नेकपा एमालेका कार्यकर्ताहरुले पार्टी छाडेरै साथ दिइरहेका छन् ।
एमालेमा लामो समय नेतृत्व तहमा रहेर कार्यकर्ताको मन जितेका गुरुङलाई उनका पूर्व सहकर्मी र पुराना कार्यकर्ताहरुले खुलेरै साथ दिन थालेका हुन् ।
मानेभञ्ज्याङको मोलीका एमालेका प्रभावशाली नेता सुजन रुम्दाली नेकपा प्रवेश गरेका छन् । पार्टी जिल्ला कमिटी सदस्य समेत रहेका रुम्दालीलाई गुरुङले नेकपामा भित्राएका हुन् ।
जिल्लाको विकास र समृद्धिका लागि योग्य नेतालाई साथ दिन आफुले पार्टी त्यागेर गुरुङलाई समर्थन गरेको रुम्दालीले बताए ।
आफुसहित केही नेताहरु खुलेरै गुरुङको पक्षमा लागेको र एमालेमा रहेका गाउँ तहका नेता कार्यकर्ताले पनि सघाउने आश्वासन दिएको उनको भनाई छ ।
त्यस्तै नेकपा एमालेका प्रदेश कमिटी सदस्य उमेश कार्कीले पनि अम्बिर गुरुङ जिताउन तारामा भोट माग्न थालेका छन् ।
यसअघि एमालेको जिम्मेवारीबाट राजीनामा घोषणा गरेका तर एमालेका अभियानमा निरन्तर लागेका कार्की पनि पछिल्लो समय गुरुङको चुनावी अभियानमा घरदैलो गरेरै तारामा भोट माग्न थालेका छन् । ‘युवाको भावना बुझेर रोजगारी दिलाउन, राजनीतिमा स्थापित गराउन र हरेक अभियानमा युवाको सहभागिता सुनिश्चित गराउने भएकाले अम्बिर गुरुङ ओखलढुंगाका युवाहरु माझ लोकप्रिय हुनुहुन्छ त्यसैले उहाँलाई साथ दिनुपर्छ ।’ कार्कीले भने, ‘अम्बिरबाबु गुरुङको योगदानको मूल्याङ्कन नहुने ओखलढुंगा एमालेमा अरुको के भविष्य छ र ? भन्ने धेरै साथीहरुको प्रश्न छ । तर पार्टी त्यागेर वा त्यहिँ बसेर यस पटक तारामा भोट हालेर अम्बिर गुरुङ जिताउने सल्लाहमा हामी युवाहरु छौं ।’ एउटा पार्टीको चुनाव चिन्ह लिएर आएपनि गुरुङ विकासवादी नेता भएकाले जिल्लाका सबै मतदाताको साझा उम्मेदवारका रुपमा उनको उम्मेदवारीलाई लिनुपर्ने उनको भनाई थियो ।
नेकपा–जसपाको चुनावी अभियानका मानेभञ्ज्याङ संयोजक रहेका जसपा नेता धिरेन्द्र रुम्दालीले अम्बिरबाबु गुरुङको विकासवादी पहिचानले समर्थक बढेको बताए । ‘यो वा त्यो दलमा आवद्ध भन्ने मात्रै कुरा छैन उहाँको विकासवादी पहिचानको ब्राण्डले समर्थकहरु बढ्नुभएको छ । अब यो माहोललाई मतमा बदलेर चुनाव जित्ने रणनीतिमा हामी छौं ।’ रुम्दालीले भने, ‘जित नजिक भएको जनजाती उम्मेदवार भएकाले पनि मानेभञ्ज्याङमा उहाँको माग बढ्दो देखियो । उहाँ सबैको साझा उम्मेदवार भएकाले समर्थन गर्न, तारामा भोट माग्न र मतदान गर्न अपिल गरिरहेका छौं ।’ विकास र समृद्धिका लागि गुरुङलाई जसपाले कार्यगत एकता गरेर सघाएको उनको भनाई थियो ।
नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले मानेभञ्ज्याङमा घरदैलो गरिरहेका छन् । जनताको माग र जिल्लाको आवश्यकता अनुसार काम गर्ने योजनासहितको प्रतिवद्धतासहित उम्मेदवारले घरघरमा पुगे र मत मागिरहेका छन् ।
एमालेका प्रभावशाली नेता रहेका पूर्वमन्त्री गुरुङलाई पार्टीले टिकट नदिएपछि उनले विद्रोह गरेर नेकपाबाट उम्मेदवार बनेका हुन् । उनको उम्मेदवारीलाई समर्थन गर्दै एमालेको सिंगो जिल्ला कमिटीसहित निर्वाचित ३ जना वडा अध्यक्ष, पार्टीका प्रदेश देखि वडातहसम्मका दर्जनौं नेता कार्यकर्ता गुरुङको पक्षमा लागेका छन् ।

प्रतिक्रिया