मानेभञ्ज्याङमा अम्बिर गुरुङको घरदैलोः बलबहादुर राईसँग तुलना गर्दै स्थानीयले भने ‘जितेर जानु, गाउँमा विकास ल्याउनू’


ओखलढुंगाका नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले पूर्वमन्त्री स्वर्गिय नेता बलबहादुर राईको गाउँ मोलीबाट चुनावी प्रचार अभियान थालेका छन् । नेकपा एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका र जनता समाजवादी पार्टीको समेत समर्थन पाएका गुरुङले जिल्लाका सबै वडा र टोलबस्तिमा पुग्ने योजनासहित मोलीबाट चुनावी प्रचार र घरदैलो अभियान थालेका हुन् ।

चुनावी अभियान शुभारम्भ गर्न मोली पुगेका गुरुङलाई स्थानीयले पूर्वमन्त्री बलबहादुर राईसँग तुलना गर्दै विकास गर्ने आशामा समर्थन गर्ने वाचा गरेका छन् । घरघरमा पुगेका गुरुङलाई मतदाताले भव्य स्वागत गरेका थिए ।

सर्वसाधारण नागरिक मात्रै होइन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले पनि गुरुङको उम्मेदवारीमा समर्थन जनाएका छन् । एमालेमा हुँदा गुरुङले अभिभावकत्व दिएका नेता कार्यकर्ता अहिले गुरुङकै पक्षमा खुलेर चुनावी अभियानमा जुटेका छन् ।

एमालेको कोशी प्रदेश कमिटी सदस्य उमेश कार्की, मानेभञ्ज्याङ एमालेका प्रभावशाली नेता, जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहितका नेताहरुले विगतमा गरेको काम र आगामी योजनाका आधारमा अम्बिर गुरुङको विकल्प नभएको भन्दै समर्थन जनाएका हुन् ।

‘ओखलढुंगामा विकास ल्याउने नेता कि बलबहादुर राई नै थिए, कि अम्बिरबाबु गुरुङ नै छन्’ मोलीमा आयोजित चुनावी सभामा जसपाका नेता दिपेन्द्र रुम्दालीले भने, ‘तपाई हाम्रो १ भोटले जन्मभूमीमा समृद्धि ल्याउने वाला छ । त्यसैले तारामा भोट हालेर अम्बिरबाबु गुरुङलाई विजयी गराऔं ।’ गुरुङले विगतमा गरेका काम र आगामी दिनका सम्भावना बुझेर विकास र समृद्धिको सर्तमा जसपाले कार्यगत एकता गरेर समर्थन जनाएको बताए ।

मानेभञ्ज्याङका गाउँ गाउँमा गुरुङले घरदैलो गरिरहेका छन् ।

कोशी प्रदेशका पूर्व मन्त्री समेत रहेका उम्मेदवार गुरुङले जिल्लाको विकासको खाका बोकेर जिल्लाबासी मतदाताको साझा उम्मेदवारका रुपमा आफु चुनावी मैदानमा आएको बताए । जिल्लाबासीले जिताएर पठाए ५ वर्षमा आफुले देखिनेगरी विकासका काम गर्ने र जनताको सेवा गर्ने वाचा गरेका छन् ।