झापा–५ मा ओलीका तर्फबाट एमालेको ३० बुँदे अपिल सार्वजनिक


नेकपा एमालेले झापा क्षेत्र नं–५ बाट आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउन मतदातासमक्ष विशेष अपिल सार्वजनिक गरेको छ।

क्षेत्रीय कमिटीद्वारा जारी गरिएको उक्त अपिलमा ओलीलाई मत दिनुपर्ने ३० वटा आधार प्रस्तुत गर्दै विकास, स्थायित्व र समृद्धिको निरन्तरताका लागि उनलाई पुनः निर्वाचित गर्न आग्रह गरिएको छ । “केपी ओलीलाई किन भोट ?” शीर्षक दिइएको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, शान्ति–सुरक्षाको प्रत्याभूति, आर्थिक पुनरुत्थान तथा अधुरा विकास आयोजनाको सम्पन्नतालाई मुख्य एजेन्डाका रूपमा अघि सारिएको छ। एमालेले झापा–५ मा सुरु भएका ठूला पूर्वाधार योजनालाई पूर्णता दिन ओलीको नेतृत्व आवश्यक रहेको दाबी गरेको छ।

अपिलमा निर्माणाधीन एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकलाई छिटो सम्पन्न गर्न सक्षम नेतृत्वको खाँचो औंल्याइएको छ । साथै दमक–रवि–चिसापानी सडक, नेपाल–चीन मैत्री औद्योगिक पार्क तथा दमक, गौरादह र गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजनालाई पनि प्राथमिकतामा राखिएको उल्लेख छ ।

एमालेले युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने, कृषिक्षेत्रको आधुनिकीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने तथा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ । त्यस्तै भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पनि प्रमुख एजेन्डा बनाइएको छ ।

पार्टीका केन्द्रीय सदस्य दीपक कार्कीले रतुवा, मावा र कमल खोलाको तटबन्धन, स्थानीय अस्पतालहरूमा सेवा विस्तार तथा आधारभूत पूर्वाधार सुदृढीकरणका लागि ओलीलाई पुनः निर्वाचित गर्न आवश्यक रहेको बताए।

उनका अनुसार अपिललाई घरदैलो अभियानका क्रममा मतदातासम्म पुर्‍याइएको छ र प्रत्येक वडामा ठूलो संख्यामा वितरण गरिएको छ । एमालेले अध्यक्ष ओली र झापा–५बीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै विगतमा भएका विकास निर्माणका कामको निरन्तरताका लागि जनसमर्थन मागेको छ ।

चुनावी माहोल तातिरहेका बेला एमालेको यो अपिललाई क्षेत्रीय राजनीति तात्ने संकेतका रूपमा हेरिएको छ।