सोलुखुम्बुमा एमालेको चुनावी अभियान (फोटो सहित)

गाउँ–गाउँमा पुगेर कल्पना राईका लागि मत माग्दै नेताहरू


देशभर निर्वाचन सरगर्मी बढेसँगै नेकपा एमाले सोलुखुम्बुले चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ। एमालेका नेताहरू र प्रचार टोली यतिबेला जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुगेर मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन्।

सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार कल्पना राईको पक्षमा मत माग्न एमालेले विभिन्न समूह बनाएर निर्वाचन टोली परिचालन गरेको जनाएको छ।

टोलीमा एमालेका केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री मानवीर राई, कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, पूर्वमन्त्री उत्तमकुमार बस्नेत, जिल्ला अध्यक्ष डुफकुमार बास्तोला लगायतका नेताहरू सक्रिय छन् ।

पूर्वरक्षामन्त्री मानवीर राईले एमालेको एजेन्डा प्रभावकारी भएको भन्दै सोलुखुम्बुमा पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले एमालेले विकासका काममा कहिल्यै अवरोध नगरेको स्मरण गराउँदै उम्मेदवार कल्पना राईलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे।

पूर्वमन्त्री उत्तमकुमार बस्नेतले महिलाहरू सबै क्षेत्रमा सक्षम रहेको उल्लेख गर्दै सोलुखुम्बुमा महिला उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन्।

जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाले जिल्लाभर एमालेप्रति मतदाताको समर्थन मजबुत रहेको विश्वास व्यक्त गरे।

उम्मेदवार कल्पना राईले मतदातासँग बहुमतका साथ जिताउन अपिल गर्दै संसदमा जिल्लाको विकासका मुद्दा उठाउने र समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छन्।

एमालेले हालसम्म लिखुपिके गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ खरीखोला तथा सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर १ र २ मा प्रचार कार्यक्रम सम्पन्न गरिसकेको छ। बाँकी क्षेत्रमा पनि तालिकाअनुसार अभियान अघि बढ्ने एमाले जिल्ला कमिटीले जनाएको छ।