लिखु एमालेका हस्ति आङरिन्जी शेर्पाले पार्टी छाडे, अम्बिर गुरुङलाई सघाउने

नुतन श्रेष्ठ
0
Shares

ओखलढुंगाको लिखुका नेकपा एमालेका प्रभावशाली नेता आङरिन्जी शेर्पा नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि नेकपाबाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले शेर्पालाई नेकपामा भित्र्याएका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका शेर्पा एमालेका पुराना र राम्रो जनमत भएका नेता हुन् । शेर्पा २०७४ को स्थानीय निर्वाचनबाट वडासदस्य पदमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा वडाअध्यक्षको प्रस्ताव त्यागेर सामाजिक सेवामै सकृय भएका नेता हुन् । उनी दलगत राजनीति भन्दा सामाजिक  सेवाका कामबाट स्थापित व्यक्ति हुन् ।

नेकपा प्रवेश गर्दै शेर्पाले विकासवादी नेता अम्बिरबाबु गुरुङको उम्मेदवारी प्रति समर्थन गरिएको बताए । `अम्बिर गुरुङ नाम र चुनाव चिन्हले होइन विकासले चिनिनुभएको यो जिल्लाको साझा नेता हुनुहो । यो चुनावमा म खुलेरै उहाँको पक्षमा लागेँ अरु धेरै एमालेका साथिहरुले पार्टी नछाड्ने तर तारामा भोट हाल्ने सल्लाह गर्नुभएको छ ।´ शेर्पाले भने, `अरु चुनावी चटक गर्ने मात्रै हुन् । कोही कोही त सस्तो लोकप्रियताका लागि जे पनि गर्न तयार हुनेहरु पनि छन् त्यो सबैले बुझेका छन् ।
तर अम्बिर गुरुङ कुराभन्दा काम बढी गर्ने नेता हो त्यसैले यस पटक उहाँलाई साथ दिने निर्णय गरियो ।´ लिखु गाउँपालिकाका स्थानीयले पनि गुरुङलाई मत दिने शेर्पाको दावी छ ।

शेर्पासहित विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका स्थानीयलाई उम्मेदवार गुरुङ र नेकपाका नेता बाबुराम गौतमले स्वागत गरेका थिए ।

अम्बिर गुरुङले विद्रोह गरेपछि ओखलढुंगा एमालेका जिल्ला कमिटीका पदाधिकारीसहित दर्जनौं नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य नै दाउमा राखेर गुरुङलाई साथ दिएका छन् । कतिपयले पार्टी नै परिवर्तन गरेका छन् भने अधिकांश एमालेका नेताहरुले पार्टी नछाडि गुरुङलाई सघाउन थालेका छन् । लामो समय एमालेको राजनीति गरेका गुरुङलाई पार्टीले अन्याय गरेको र विद्रोह गर्न बाध्य पारेको भन्दै निर्वाचनमा जिताउन सहयोग गर्ने एमालेकै नेता कार्यकर्ता बताउँछन् ।