एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चकाे चुनावी अभियान तीव्र


नेकपा एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
सम्पर्क मञ्चका अध्यक्ष खड्गनारायण राईको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा एमाले सोलुखुम्बुका प्रतिनिधि सभा उम्मेद्वार कल्पना राईलाई बिजयी गराउन मञ्चका पूर्व अध्यक्ष अर्जुन कार्कीको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्व अध्यक्ष कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय आर्थिक परिचालन कमिटी, तिलक राईको संयोजकत्वमा ५ सदस्यिय प्रचारप्रसार कमिटी तथा बच्चुनारायण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ।
नवगठित कमिटीले बिहीबार नै काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गर्दै आफ्नो अभियानको औपचारिक सुरुवात गरेको छ। काठमाडौँको सरस्वतीनगरस्थित कार्यालयको उद्घाटन नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारी, एमाले कोशी प्रदेश सचिवालय सदस्य उत्तमकुमार बस्नेत, महेश किराँती, जिल्ला अध्यक्ष डुफकुमार बास्तोला लगायतको उपस्थितिमा सम्पन्न भएको हो।

सो कार्यक्रममा बोल्दै उम्मेद्वार कल्पना राईले यस पटकको निर्वाचनमा देशले मागेको युवा नेतृत्व नेकपा एमाले सोलुखुम्बुले अगाडी सारेकाले सबैको साथ र सहयोगले नै यस पटकको निर्वाचनमा जित हासिल गर्ने बताईन । उनले सोलुखुम्बुको विकाससँगै देशको नीति निर्माणमा आफ्नो उपस्थिती प्रभावकारी बनाउने उनले प्रतिबद्धता समेत जनाईन ।


परिचालन कमिटी संयोजक अर्जुन कार्कीका अनुसार, सोलुखुम्बु घर भई काठमाडौँमा बसोबास गर्ने मतदाताहरूसँग अन्तरक्रिया, भेटघाट तथा चुनावी कार्यक्रम सञ्चालन गरी फागुन २१ गते एमालेको पक्षमा मतदान गर्न सोलुखुम्बु पुग्ने वातावरण निर्माण गरिनेछ।
यससँगै एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चले निर्वाचन अभियानलाई थप सक्रिय र संगठित बनाउने तयारी गरेको छ।