ग्यासको अभाव छैन : आयल निगम


उपभोक्ताले सहजै खाना पकाउने ग्यास पाउन नसकेको गुनासो गरिरहेका बेला नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको दाबी गरेको छ । निगमले प्रेस विज्ञप्ति निकालेर ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । 

भारतबाट गएको महिना जनवरीमा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको पनि निगमले जनाएको छ । त्यस्तै नोभेम्बरमा ४७ हजार २ सय ६४ र डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।

यो आयात अनुसार जाडोयामको माग धान्न पुग्ने ग्यास रहेको निगमको भनाइ छ । अहिले केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।

बजारमा एलपी ग्यासको अहिलेको अवस्था तथा आउँदो चुनावलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उहाँले जानकारी दिनुभयो । आवश्यकताअनुसार मात्र ग्यासको खरिद गर्न एवम् ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत निगमले आग्रह गरेको छ ।