पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई साझा उम्मेदवार बनाएका नेकपा र जसपाले ओखलढुंगाको चिशंखुगढीबाट चुनावी अभियान सुरु गरेका छन् । राजधानीमा नेता कार्यकर्ता र जिल्लाका सरोकारवालासहित मतदातालाई पनि भेटेर जिल्ला फर्किएका उम्मेदवारसहित नेकपा र जसपाका नेताहरुले भूगोलमा चिशंखुगढीबाट चुनावी अभियान थालेका हुन् ।
जिल्लाको पहिलो पालिकास्तरीय निर्वाचन तयारी तथा विस्तारित बैठकमा नेकपाकोे तारा चिन्हबाट नेकपा–जसपाको साझा उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले जिल्लाको विकास र देशको निकासका लागि आम मतदाताकै अनुरोधमा उम्मेदवार बनेर चुनावी मैदानमा आएको बताए । गुरुङले विगतमा आफु प्रदेश सांसद र मन्त्रीहुँदा सुरुवात गरेका कामलाई पुरा गर्ने, जिल्लाका सबै ८ वटै पालिकामा समानुपातिक विकास गरेर ५ वर्षमा ओखलढुंगालाई समृद्ध जिल्ला निर्माण गर्ने संकल्प लिएको बताए । आफु व्यक्तिगत स्वार्थ र लाभको पदका लागि नभई जिल्लाको विकास र जिल्लाबासीको सेवाका लागि राजनीतिमा आएकाले अनेकौं अफ्ठ्यारो परिस्थितीका बीच फेरि पनि जनताकै बीचमा आएको बताए ।
जिल्लाको विकास र जनताको सेवाका लागि नेकपा एमालेबाट विद्रोह गर्नुपर्ने बाध्यता आइलागेको उनले बताए । ‘म राजनीतिमा केही लिउँ खाउँ भनेर आएको होइन । सबै सेवा सुविधा र आरामको जिन्दगी त्यागेर जन्मभूमीको विकास गर्न र जिल्लाबासीलाई आत्मनिर्भर र सुविधासम्पन्न बनाउन अमेरिका छाडेर फर्किएँ । १ पटक सांसद र मन्त्री भएँ त्यो बेला मैले काम गरेर पनि देखाएँ ।’ गुरुङले भने, ‘फेरि पनि १ पटक जनप्रतिनिधि भएर प्रादेशिक निर्वाचन क्षेत्र ‘क’ मा अधुरा रहेका कामलाई पुरा गर्ने, निर्वाचन क्षेत्र ‘ख’ मा पनि पूर्वाधार विकासको अभियान चलाउने र आठैवटा स्थानीय तहमा पूर्वाधार विकासका काम गरेर समृद्ध ओखलढुंगा, सुखी ओखलढुंगे बनाउने लक्ष्य पुरा गर्ने योजनामा थिएँ । एमालेले टिकट किन दिएन त्यो तपाईहरुलाई थाहै छ । पार्टीले टिकट नदिएपनि जिल्लाबासीले हामी जिताउँछौं आउनस् भनेपछि नेकपाको तारा चुनाव चिन्ह लिएर आएको छु । भारीमतले जिताउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने नेकपा र जसपाका नेता, कार्यकर्ता प्रति धन्यवाद दिँदै गुरुङले नतिजा आफ्नो पक्षमा पर्नेगरी एकमना एकताका साथ चुनावी अभियानमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आफु नेकपा र जसपाको समर्थनमा मतदाताको साझा उम्मेदवार बनेकाले जित हाँसिल गर्ने दावी गरेका छन् ।
बैठकका वक्ताहरुले यो निर्वाचनमा विकासवादी पहिचान बनाएका गुरुङलाई जिताएर जिल्लाको विकासलाई गतिदिने बताए । नेकपाका नेता तथा चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले अम्बिरबाबु गुरुङलाई यो निर्वाचनमा विजयी गराउने उद्घोष गरेका छन् । विगतमा गुरुङ र शर्माको राजनीतिक बहस पेचिलो बनेको विषयलाई लिएर कतिपयले फरक टिप्पणी गरेपनि भ्रममा नपर्न शर्माले आग्रह गरेका छन् । ‘अम्बिरबाबु गुरुङ र मेरा बीचमा विगतमा केही फरक मतहरु थिए । तर ति सबै राजनीतिक बहस र छलफलहरु यही गाउँठाउँको विकासका लागि भएका थिए । हाम्रो व्यक्तिगत दुस्मनी थिएन ।’ उनले भने, ‘अहिले कांग्रेस एमालेका नेताहरु मलाई खुब बेमौषमी माया पिरतीका कुरा गरिरहेका छन् । तर म अविचलित रुपमा अम्बिरबाबु जिताउने अभियानमा छु ।’ जिल्लामा स्थापित र आफ्नो ठाउँठाउँमा अरबौंको बजेट ल्याएर विकासका दर्जनौं काम गरेका नेता अम्बिरबाबु गुरुङको उम्मेदवारीले चिशंखुगढीका स्थानीय उत्साहित रहेको उनले बताए ।

अध्यक्ष शर्माले स्थानीय तहसँगको समन्वयमा अम्बिरबाबुको पहलमा सुरु भएका योजनाले चिशंखुगढी समृद्धिको यात्रामा अघि बढेको बताउँदै चिशंखुसहित प्रादेशिक निर्वाचन क्षेत्र ‘क’ मा थालनी भएका जस्तै योजना लिखु, चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङमा पु¥याउन अम्बिरबाबुको जित जरुरी रहेको बताए ।
नेकपाका नेताहरु बाबुराम गौतम, नेत्र भट्टराई, रामकुमार कार्की, एमाले अध्यक्षको पद त्यागेर अम्बिरबाबुको जित सुनिश्चित गर्न नेकपामा प्रवेश गरेका नेकपा नेता जीवी खड्का, समानुपातिक उम्मेदवार निर्मला श्रेष्ठ, जसपाका नेता खेमराज खड्कासहित स्थानीय नेताहरुले तारा चुनाव चिन्हबहाक उम्मेदवार अम्बिरबाबु गुरुङलाई जिताउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
एमालेबाट विद्रोह गरेर अम्बिरबाबु गुरुङलाई साथ दिएका नेता कार्यकर्तासहित, नेकपा र जसपाका बीचमा जिल्लाका सबै ८ वटै पालिकामा विस्तारित बैठक गरेर निर्वाचन परिचालन व्यापक बनाईने जसपा नेपालका नेता एवम् खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताए ।


प्रतिक्रिया